पाटन (ललितपुर) । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताएका छन् ।
आयोजित र्यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताए ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा हरेक वर्षको डिसेम्बर ३ लाई मनाउने गरिन्छ । यस वर्ष विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराउने कार्यक्रम राखेको प्रमुख महर्जनले जानकारी दिए । उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।
अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्नका लागि सहजीकरण र समन्वयका माध्यमबाट तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले बताए । उनले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि सीप विकास र जीवनयापनका लागि शिक्षाको व्यवस्थापन महानगरले गर्ने विश्वास व्यक्त गरे ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको ३२ वर्ष भएको स्मरण गर्दै अपाङ्गता भएका व्यक्तिको जिल्ला संयोजक भोजराज श्रेष्ठले सङ्घीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो व्यक्त गरे । उनले अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि अरु सेवासुविधा उपलब्ध गराउने गरी आवश्यक नीति तथा योजना बनाएर दैनिक जीवनयापनमा सहज बनाइनुपर्नेमा जोड दिए ।
नीतिनिर्माण तहदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिको नेतृत्व स्थापित नभएसम्म विकासले सार्थकता नपाउने भन्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले यसका लागि सबैले हातेमालो गरेर लाग्नुपर्ने धारणा राखे ।
विसं २०७८ को जनगणनाअनुसार नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या ललितपुर महानगरपालिकामा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभ खरेलले जानकारी दिइन् ।
यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो ।