झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया छ महिनादेखि बिक्री नहुँदा समस्या भएको छ । उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।
इलाम र झापाका व्यवसायीका अनुसार भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदामै थन्किएको उनीहरुको गुनासो छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको चिया व्यवसायीले गुनासो गरेका हुन् ।
झापाका चिया उद्योगी जेपी शर्मा चिया उद्योगी व्यवसायीको संरक्षणमा सरकार उदासिन देखिएको आरोप लगाउँदै चिया बिक्री नहुँदा मजदूरलाई समयमै पारिश्रमिक दिन नसकेको बताए ।
यसैगरी, ग्रीनहिल टि–इण्डस्ट्रिज इलामका प्रबन्धक गोपाल दाहालका अनुसार हाल प्रत्येक उद्योगका गोदाममा ३० हजार केजीका दरले तयारी चिया थन्किएको छ ।
नेपालमा सिटिसी चियाको ५० प्रतिशत खपत हुने र बाँकी भारत निर्यात हुने गरेको चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले बताए । सिटिसी चियाको तुलनामा अर्थोडक्स चिया महँगो हुने हुँदा मुलुकमा कम खपत हुने गरेको उनको भनाइ छ ।
नेपालमा उत्पादित चियाको गुणस्तरबारे जानकारी गराउन सूचना केन्द्र स्थापना गर्नसके तेस्रो मुलुक चिया निर्यातमा सहज हुने चिया व्यवसायी रामचन्द्र उप्रेतीले बताए ।