काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बालुवा झिक्न नपाउँदा आयोजनाको काम रोकिने अवस्था आएको जनाएको छ ।
कालीगण्डकी नदीबाट आयोजना निर्माणका लागि आवश्यक नदीजन्य सामग्री झिक्ने निर्णय भएको थियो तर अदालतको आदेशबाट ती स्थानमा नदीजन्य सामग्री उत्खनन रोकिए पनि आयोजनाको काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्नेलगायत प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्नू नगराउनू भनी सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको २०७८ असार २९ को एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । नदीजन्य सामग्री उत्खनन अदालतको उक्त आदेशपछि रोकिएको हो ।
शनिबार आयोजनाको अनुगमनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोली गएका थिए । उक्त टोलीलाई सर्वोच्च अदाललको अन्तरिम आदेशका कारण नदीजन्य सामग्री झिक्न रोक लागेपछि निर्माणमा असर परिरहेको आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले जानकारी गराएका थिए । ऊर्जामन्त्री बस्नेतले समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन् ।
ठेकेदार कम्पनीले हालको ढुङ्गा, गिटी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभाव हटेमा आगामी १५ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । बाँध, मुख्य सुरुङ, विद्युत्गृहलगायत संरचनाको निर्माण भइरहेको छ । छ दशमलव तीन किलोमिटर मुख्य सुरुङमध्ये पाँच दशमलव छ किलोमिटर खनिसकिएको छ भने विद्युत्गृहको सिभिल निर्माणसँगै उपकरण जडान पनि भइरहेको छ ।
प्राधिकरणका अनुसार मन्त्री बस्नेतले आयोजना निर्माणको प्रगति सन्तोषजनक रहेको, नदीजन्य सामग्री उत्खननमा देखिएको समस्या समाधान गर्न माथिल्लो तहबाट आवश्यक पहल, समन्वय र सहजीकरण गरिने आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।
नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणको लगानी र भारतीय निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा प्राधिकरणको पूर्ण स्वामित्वको रघुगङ्गा हाइड्रोपावर लि मार्फत आयोजनाको निर्माण भइरहेको छ । आठ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको छ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ ।