काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको खरिद गरेपछि अनिवार्यरूपमा बिल लिन उपभोक्ताहरूसँग आग्रह गरेको छ । हाल बजारमा नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मूल्यभन्दा बढी मूल्य लिई ग्यास बिक्री वितरण भएको जनगुनासो आएको भन्दै संघले तोकिएको मूल्यबाहेक बढी रकम नतिर्न पनि आग्रह गरेको छ ।
संघले मंगलबार विज्ञप्ति जारी गरी आयल निगमद्वारा सबै क्षेत्रको लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिण्डर (१४.२ केजीको) एक हजार आठ सय ९५ रुपैयाँ मात्र रहेकाले सोही मूल्य तिरी ग्यास खरिद गर्न र अनिवार्य बिल लिन आग्रह गरेको हो । निर्धारित मूल्यभन्दा बढी मूल्य लिई ग्यास बिक्री वितरण गर्नु गैरकानुनी हुने हुँदा त्यस्तो कार्य नगर्न संघले विक्रेताहरूलाई पनि अनुरोध गरेको छ । ‘कानुनविपरीत गैरकानुनी तवरबाट ग्यास बिक्री गरेको पाइएमा यस संघ तथा सम्बन्धित सरोकारवाला निकायहरूमा तत्काल जानकारी गराउनु हुन आम उपभोक्ताहरूमा समेत यसै विज्ञप्तिद्वारा सूचित गरिन्छ’ संघका अध्यक्ष शिवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयल निगमले बजारको मागअनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आएको पनि संघले जनाएको छ ।