काठमाडौँ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुँदैछ । त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले समारोहको सबै तयारी पूरा भइसकेको जानकारी दिए ।
समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् ।
यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । २०७९साल असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने उनले बताए ।
त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने छ ।