काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप परेको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलताको स्थिति नियन्त्रणका लागि शुक्रबार फेरि २५ अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बिक्री गरेर १४ दिनका लागि बैंकिङ प्रणालीको रकम प्रशोचन गर्न लागेको हो ।
निक्षेप संकलन उपकरणका लागि राष्ट्र बैंकले शुक्रबार अपराह्न्न १२ बजेसम्म बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले पछिल्लो एक महिनामा १२ पटकसम्म बैंकिङ प्रणालीबाट डेढ खर्ब रुपैयाँभन्दा बढी निक्षेप तानेको छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुनजान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेपसंकलन गर्न सकिने व्यवस्था पनि छ ।
शुक्रबार नै निष्काशन हुने निक्षेप उपकरणको साँवाब्याज भुक्तानी पुस २० गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेप उपकरण खरिदका लागि बोलबोल पेस गर्न सक्नेछन् ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।