काठमाडौं । नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्डबीच सम्झौता भएको छ । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मान (रिर्पोटिङ स्ट्यान्डर्ड)हरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डको बीच बुधबार सम्झौता भएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार सम्झौतामा धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापा, एफसीएले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताको प्रमुख उद्देश्यमा विशेषगरी नेपालमा स्ट्याबिलिटी रिर्पोटिङ स्ट्याान्डर्ड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको छ । नेपालको सन्दर्भमा एनएसआरएस रिर्पोटिङ नवीन अवधारणा हो, जसले व्यावसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ ।
सम्झौताअनुसार एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्न आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सो मानहरूसँग सम्बन्धित प्राविधिक विषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्ने बताएको छ ।