काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि पौने तीन लाखभन्दा बढी नेपाली नागरिकले श्रम स्वीकृति लिएका छन् । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म दुई लाख ७७ हजार पाँच सय ९२ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले बताएको छ ।
मंसिर महिनामा सबैभन्दा बढी श्रम स्वीकृति प्रदान गरिएको विभागले बताएको छ । चाडबाडलाई आएका नेपालीहरू पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा फर्किने भएकाले मंसिर महिनामा श्रम स्वीकृति लिनेको संख्या बढेको विभागका निर्देशक लोकनाथ भुसालले बताए । निर्देशक भुसालका अनुसार दशैँ, तिहार र छठ मनाएर पुनः वैदेशिक रोजगारीमा जान चाहने वा नयाँ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने परिपाटी रहेको हुँदा मंसिरमा श्रम स्वीकृति बढेको हो
यस आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा मंसिर मसान्तसम्म आइपुग्दा श्रम स्वीकृति लिनेको संख्या करिब ७० प्रतिशतले बढेको छ । पहिलो त्रैमासमा एक लाख ६२ हजार छ सय ९४ जनाले श्रम स्वीकृति लिएकोमा मंसिर मसान्तसम्म दुई लाख ७७ हजार पाँच सय ९२ जनाले लिएका हुन् । चालू आर्थिक वर्षको साउनमा ५५ हजार पाँच सय ७५ जना, भदौमा ५० हजार आठ सय ८४ जना, असोजमा ५६ हजार दुई सय ३५ जनाले श्रम स्वीकृति लिएका छन् । कात्तिकमा ४३ हजार छ सय २२ जना र मंसिरमा ७१ हजार दुई सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी मलेसिया र खाडी मुलुकका लागि छन् । मंसिरमा मात्र सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स जानका लागि भन्दै १८ हजार चार सय १३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि क्रमशः कतारका लागि १४ हजार एक सय ५१ जना, साउदी अरबका लागि १३ हजार नौ सय ८३ जना र मलेसियाका लागि नौ हजार सात सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी मलेसिया र खाडी मुलुकका लागि छन् । वैदेशिक रोजगारीमा जाने युवाको लागि नयाँ मुलुक गन्तव्य बन्न नसक्दा मलेसिया र खाडी मुलुक जानेको संख्या बढी रहेको विभागका अधिकरीहरूको भनाइ छ ।
मलेसिया र खाडी मुलुकको विकल्पको रूपमा युरोप र अमेरिकाका विभिन्न मुलुकहरूमा नेपाली पुगे पनि सहजता र लगानीरकम बढी हुँदा ती मुलुकमा श्रम स्वीकृतिको संख्या बढ्न नसकेको उनीहरूको भनाइ छ । यद्यपि युरोप, अमेरिकालगायतका मुलुकमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या भने क्रमिकरूपमा बढ्दै गएको छ ।
गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्यामा १४ दशमलव ३८ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म तीन लाख २४ हजार दुई सय ४३ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगारी सुरक्षित, भरपर्दो र सहज नहुँदा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हुनसक्ने विभागले आकलन गरेको छ । पछिल्लो समय मुलुकमा राजनीतिक स्थायित्व देखिएको कारण पनि नेपालीहरू यहीँ नै अड्किएको हुनसक्ने विभागका अधिकारीहरू बताउँछन् ।
श्रम स्वीकृति लिएर एक सय ५० वटाभन्दा बढी मुलुकमा कामका लागि नेपाली पुग्नेगरेको भए पनि ती मुलुकसँग श्रम सम्झौता नहुँदा थप समस्या देखिन्छ । सरकारले संस्थागतरूपमा एक सय आठ र व्यक्तिगत प्रयासमा एक सय ७२ वटा मुलुकमा काम गर्न खुला गरे पनि श्रम सम्झौता भने ज्यादै न्यून मुलुकसँग भएको छ । यति धेरै मुलुकमा काम गर्न पठाउने सरकारले श्रम सम्झौतामा भने पटक्कै ध्यान दिएको छैन ।
मुलुकमा पर्याप्त रोजगारी नभएपछि विकल्पको रूपमा हेरिएको वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने क्रममा सरकारले केही मुलुकसँग श्रम सम्झौता अघि बढाएको हो । यस क्रममा करिब दुई दर्जन मुलुकसँग द्विपक्षीय श्रम सम्झौता तथा समझदारी भएको छ ।
पछिल्लो समय रोमानिया र जर्मनीसगँ श्रम सम्झौता भएपछि नेपालले श्रम सम्झौता गरेको मुलुकको संख्या १२ पुगेको हो । नेपाल सरकारले विभिन्न समयमा मलेसिया, खाडी मुलुक, जापान, दक्षिण कोरिया र युरोपेली मुलुकसँग श्रम सम्झौता गरेको छ । सरकारले वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा एक सय आठवटा मुलुक खुला गरे पनि नेपाली श्रमिकहरू कामको खोजीमा एक सय ७२ वटा मुलुकमा पुग्ने गरेका छन् जसले गर्दा सरकारले द्विपक्षीय श्रम सम्झौता तथा समझादारी कायम गर्नुपर्ने दबाब रहेको छ ।
श्रम सम्झौताले श्रमिकको हक र अधिकार मात्र नभई स्वयम् रोजगारदातालाई समेत व्यवस्थित गर्ने र श्रमिक पठाउने र प्राप्त गर्ने मुलुकहरूको सम्बन्ध समेत प्रगाढ बनाउने देखिन्छ । तर, श्रम सम्झौता नहुँदा तथा कार्यान्वयनमा नल्याउँदा रोजगारदाता तथा श्रमिकले श्रम नियम, मानव अधिकारभन्दा बाहिर रही काम गर्नुपर्ने अवस्था छ । नेपाली श्रमिकले अकालमा मृत्यु, सेवा–सुविधाबाट वञ्चित, आधारभूत सेवा–सुविधाबाट वञ्चित, चर्को शुल्क तथा न्याय नपाउने समेतका समस्या भोग्नुपरेको छ । त्यसैले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम सम्झौता र त्यसको कार्यान्वयन गर्नु आवश्यक छ ।