काठमाडौँ । केही दिनदेखि लगातार मन्त्री हेरफेर गरेर भए पनि विकास निर्माणको कार्यलाई गति दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउँदै आएका छन् । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले यो विषयबारे छलफल चलाएका थिए ।
मन्त्री हेरफेरका लागि माओवादी तयार रहे पनि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस मन्त्री परिवर्तनको पक्षमा देखिएको छैन । प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग यो विषयमा कुरा राख्दा सकारात्मक सङ्केत नपाएको बालुवाटार स्रोतले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि भएका कारण प्रचण्डले कांग्रेसलाई गृह मन्त्रालय दिएर अर्थ मन्त्रालय आफूले लिने सोच बनाएका छन् । देशको अर्थतन्त्र सुधारमा मन्त्री महतले खासै प्रगति नगरेको प्रधानमन्त्रीको बुझाइ रहेको छ । तर सभापति देउवा आफ्ना प्रिय रहेका मन्त्री महतलाई कुनै पनि हालतमा मन्त्रीबाट हटाउन इच्छुक देखिएका छैनन् ।
पुस १० गते प्रधानमन्त्री प्रचण्डको कार्यकाल एक वर्ष पुग्दैछ । पूर्ववत् सहमति अनुसार थप एक वर्ष प्रधानमन्त्री प्रचण्ड नै रहनेछन् । प्रचण्डपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने गठबन्धनमा सहमति भएको छ ।