विराटनगर । प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
सोमबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग भएको भेटघाट एवं छलफलमा उनले प्रदेश सरकारले प्रादेशिक सरकारको दोस्रो कार्यकालमा अहिले आएर प्रदेश सरकारका अधिकारका बारेमा बहस चलेको र यसमा देशका समग्र पत्रकारहरुको भूमिका रहने स्पष्ट गरेका हुन् ।
यस विषयमा बहस चलाउन नेपाल पत्रकार महासङ्घसँगलाई मुख्यमन्त्री कार्कीले आग्रहसमेत गरेका छन् । उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सङ्घीय सांसदमाथि पनि सञ्चारकर्मीले प्रश्न गर्नुपर्ने बताए । प्रदेश सरकार सधैँ प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार महासङ्घको भौतिक संरचना विकासमा लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।