काठमाडौँ । किरात समुदायको महान् पर्व उँधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।
शुभकामना सन्देशमा अध्यक्ष तिमिल्सनाले उधौलीपर्वले सबैमा सकरात्मक सोचको विकास गर्न अहम् भूमिका निर्वाहका साथै सत्मार्गमा लाग्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । सन्देशमो राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैखाले जातीय, भाषिक, धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा असर पार्ने क्रियाकलापको अन्त्य गर्नु आवश्यक रहेको उल्लेख छ ।
उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किराँत समुदायका राई, लिम्बू, सुनुवार र याक्खाहरूको महान् चाड उँधौलीपर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।