काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् । उनले आगामी वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन गरिने उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले आफूले देशवासीका नाममा गरेको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताए । देशवासीका नाममा हालै गरेको सम्बोधन अक्षरशः लागू गरिने उनको भनाइ थियो । अब कामका आधारमा मन्त्री तथा कर्मचारीको मूल्याङ्कन गरिने उल्लेख गरे
प्रधानमन्त्री दाहालले आजै आफूले प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गर्ने उद्घोष गर्दै अन्य काम पनि क्रमशः अगाडि बढ्ने बताए । सरकारको काममा प्रभावकारिता ल्याउन मन्त्रालयगत छलफल थालेको उल्लेख गर्दै उनले जनताका लागि अझ राम्रो काम गर्ने सङ्कल्पका साथ छलफल प्रारम्भ गरिएको बताए ।
बैठकमा मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको, नागढुङ्गा सुरूङमार्ग निर्माणको काम अपेक्षित गतिमा अगाडि बढेको, हुम्ला सदरमुकाम सिमकोटसम्म सडक विस्तार र कालोपत्र गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए ।