नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । हिउँदेबाली लगाउनका लागि पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको छ ।
लिमिटेडका प्रमुख नरहरि पोखरेलले जिल्लाका नौ बिक्रेता संस्थाले हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको जानकारी दिए ।
पोखरेलले भने, “जिल्लामा रहेका साबै पालिकाले आ–आफ्नो पालिकाभित्र रहेका बिक्रेता संस्थाको नामसहित निश्चित परिमाणमा मल दिने भनेर कृषि सामग्री कम्पनीलाई पत्र पठाएको थियो ।”
पोखरलेका अनुसार रामग्राम नगरपालिकाभित्र रहेका परासी आदर्श बहुद्देश्यी, त्रिदेव बचत तथा ऋण, पाल्हीनन्दन बचत तथा ऋण, र साना किसान कृषि सहकारी संस्थाले मल उठाएको छैन् ।
कृषि सामग्री लिमिटेडले साउनदेखि अहिलेसम्म एक हजार छ सय ३९ दशमलव चार मेट्रिक टन मल वितरण गरिसकेको जनाएको छ । जिल्लामा हिउँदेखेती करिब १९ हजार हेक्टर क्षेत्रफल हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । हिउँदेबाली लगाइसकेका किसानले अहिले युरिया छर्ने समय हो ।