काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) १७ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । आज अपराह्न दुई बजेसम्म बोलकबोलमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
यसअघि पुस १६ गते २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री भएको थियो ।
पुस २४ गते मंगलबार जारी हुने ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउने छन् । ९१ दिन अवधिको आठ अर्ब रुपैयाँ र एक सय ८२ दिन अवधिको नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । एक सय ८२ दिन अवधिको नौ अर्बमध्ये तीन अर्बको नयाँ बिल जारी गर्न लागेको हो । बाँकी सबै पुरानो नवीकरणअन्तर्गतको भएको केन्द्रीय बैंकले जनाएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल चैत्र २७ गते र एक सय ८२ दिन अवधिको २०८१ असार २६ गते परिपक्व हुनेछ ।