काठमाडौँ । नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासङ्घका लागि स्विस महासङ्घका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत सुवेदीले बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा अध्यक्ष एमहेर्डसमक्ष मङ्गलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
राजदूत सुवेदीले ओहोदाको प्रमाणपत्र पेस गरेपछि राष्ट्रपति एमहेडसँग भएको शिष्टाचार भेटमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट स्विट्जरल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्य र शान्तिको कामनाका साथै स्विट्जरल्याण्डका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका थिए ।
नेपाल र स्विट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउँदै राजदूत सुवेदीले आपसी सहयोगका क्षेत्रलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा मिलेर काम गर्ने प्रशस्त अवसर रहेको जानकारी दिँदै नेपालमा शान्ति प्रक्रियालगायत स्विस विकास सहयोगमार्फत प्राप्त स्विस सहयोगप्रति आभार व्यक्त गरे ।