काठमाडौं । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका निगाले घर भई काठमाडौंस्थित फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
तामाङले कीर्तिपुर नगरपालिका चोभार जलबिनायक मन्दिर परिसरमा पुस ९ गते ललितपुर घर भएका ३६ वर्षीय पुरूषलाई आठ हजार अमेरिकी डलर भेटाएको र नेपाली रूपैयासँग साट्ने भए नगद पाँच लाख रूपैयाँ दिनुस् भन्दै पाँच लाख रूपैयाँ लिई पीडितलाई ५० दरको अमेरिकी डलर एक थान दिई अन्य डलर रूमालभित्र छ भन्दै नेपाली २० दरको दुई सय ४० वटा नोटहरू रातो रूमालमा पोका बनाई दिई ठगी गरी फरार भएको खुल्न आएको छ ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले तामाङको खोजी गर्ने क्रममा काठमाडौं दक्षिणकाली नगरपालिका नारायणथानबाट फेला पारी पक्राउ गरेको हो । उनीउपर ठगीसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालत बबरमहलबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।