काठमाडौं, जेठ १४
लकडाउनका बेला घरमै बसिरहेकाहरुलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्देश्यका साथ क्यास क्विज एप सञ्चालनमा आएको छ । होम सर्भिस नेपालले इन्नोभेसन वेब ग्रुपसँगको सहकार्यमा डेभलप गरी सञ्चालनमा ल्याएको एप लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने किसिमको भएको बताइएको छ । लकडाउनमा घरमा बसिरहेकाहरुलाई मनोरञ्जन, ज्ञानको साथमा नगद उपहार समेत जित्नसक्ने गरी ‘क्विज खेलौं नगद जितौं’ योजनासहित मोबाइल एप सञ्चालनमा ल्याइएको होम सर्भिस नेपालका प्रबन्धनिर्देशक दामोदर श्रेष्ठले जानकारी दिए ।
लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी, लोकसेवाको तयारी गरिरहेकाहरुलगायत आम मानिसलाई एप उपयोगी हुने श्रेष्ठले बताए । क्यास क्विजमा सहभागी भएर जितेको नगद उपहारले मोबाइल टपअप गर्न सकिनेछ । एपमा प्रश्नोत्तर खेलका आधारमा एकपटकमा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जित्न सकिनेछ । केही समयपश्चात् नगद उपहारको सीमा ५० हजार रुपैंयासम्म पु-याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।
विशेष गरेर लोकसेवा आयोगको तयारी गरिरहेकाहरुलाई लक्षित गरेर बनाइएको यो मोबाइल एप लकडाउनका बेला लोकप्रिय बन्दै गएको छ । हाललाई गुगल प्लेमा मात्र उपलब्ध यो एप २ सातामा १५ हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् । विद्यालय तथा कलेजका विद्यार्थीहरुको सहभागिता धेरै बढेको इन्नोभेसन वेब ग्रुपका प्रबन्धनिर्देशक दिपेश बर्तौलाले जानकारी दिए । उनका अनुसार क्यास क्विजको युट्युब च्यानलमा राखिएका क्विजसम्बन्धी भिडियोमा अधिकांश प्रश्नोत्तरलाई समेटिएको छ । च्यानलको भिडियो हेर्नेहरुलाई क्विजमा सहभागी हुन धेरै सहज हुने उनले बताए ।
हरेक दिन साँझ ५ बजे र ९ बजे सञ्चालन हुने लाइभ गेममा सहभागी हुनेहरुले मात्र नगद उपहार जित्न सक्नेछन् । अन्य समयमा प्राक्टिस मोडमा क्विज गेम खेल्न सकिनेछ । क्यास क्विज एप प्रयोग गर्न इन्टरनेट कनेक्सन अनिवार्य गरिएको छ । लाइभ क्विज गेम सुरु हुने समयमा एप खोलेर सहभागिता जनाउनुपर्ने हुन्छ । सहभागी भएको केही बेरमा खेल सुरु हुन्छ । खेल सुरु हुने समयसम्ममा खेलमा सहभागी नभएकाहरुले अर्को पटक मात्र खेल खेल्न सक्छन् । तर प्राक्टिस मोडमा कुनै पनि समयमा खेल्न सकिन्छ ।
अहिले दिनको २ पटक सञ्चालन हुने लाइभ गेममा क्यास क्विजले सोधेको प्रश्नको जवाफ दश सेकेन्डभित्र दिनुपर्ने हुन्छ । जवाफ नआएमा लाइफ लाइनको समेत प्रयोग गर्नसक्ने व्यवस्था गरिएको छ । १० वटा प्रश्न सोधिने एक खेलमा आठौं प्रश्नसम्म दुईपटक लाइफलाइन प्रयोग गर्न सकिन्छ । क्यास क्विजले सोधेका दशवटै प्रश्नको सही जवाफ दिने व्यक्तिलाई विजेता घोषणा गरिनेछ । दुई वा दुईभन्दा बढी सहभागीले दश वटै प्रश्नको सही जवाफ दिएमा तोकिएको नगद उपहार दामासाहीले सबैलाई बराबर वितरण गरिनेछ ।