चितवन । चितवनमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।
भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित शरणपुरबाट मंगलबार साँझ नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडि बसेकी मृतककी १५ बर्षीया छोरी अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् भने उनको दुबै खुट्टामा चोट लागेको छ । चितवन मेडिकल कलेज भरतपुरमा अपेक्षाको उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।