काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएपनि उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहने जनाएको हो ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका अधिकांश भागमा हुस्सु लागेको छ । आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरोले ढाक्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।