काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सातौँ वार्षिक स्थापना दिवस सम्पन्न गरेको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्ला (बसुपू) को गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्नो सातौँ वार्षिक स्थापना दिवस आइतबार एक कार्यक्रम गरी मनाएको हो ।
२०७३ असार ३० गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७३ पुस १७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत्रूपमा २०७३ माघ ७ गतेदेखि संस्थाले कारोबार शुभारम्भ गरेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी कारोबार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४१ रहेको छ । यस संस्थाले देशभरि नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिएअनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरूमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी नेपालका सातै प्रदेशका ४८ जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ ।
सातौँ वार्षिक उत्सवको अवसरमा वित्तीय जनचेतनासहित प्रभातफेरी कार्यक्रम गरी संस्थाको तर्फबाट चितवन भरतपुुर महानगरपालिका, वडा नं ४ स्थित आदर्श गृह नेपाललाई खाद्यान्नको सामान (चामल, दाल, भुुजा चिनी, चियापत्ति, चाउचाउ) वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले गरेका थिए । संस्थाले हालसम्म विपन्न वर्गका सदस्यहरूलाई सहजरूपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले एक लाख ३६ सदस्यहरूलाई सेवा दिई विभिन्न उद्देश्यमा ३६ हजार चार सय १३ जना ग्राहकहरूमा बाँकी कर्जा चार अर्ब ८४ करोड रहेको छ भने ग्राहक सदस्यहरूको बचत रकम एक अर्ब २६ करोड रुपैयाँ रहेको छ ।