काठमाडौँ । नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तयार रहेको बताएका छन् ।
मंगलबार यहाँ आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए । सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने मन्त्री साउदले उल्लेख गरे ।
उनले भने, “कोरियामा हजारौँ नेपाली कामदार छन् । ठूलो सङ्ख्यामा नेपालीले थप अध्ययनका लागि कोरिया छनौट गरेका छन् । हजारौँ कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । आगामी दिनहरूमा, हामी यी आदानप्रदानहरूलाई अझ विस्तार गर्नेछौँ ।”
सन् १९७४ मे १५ मा नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै मन्त्री साउदले यो सम्बन्ध मित्रता, सौहार्दता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताए । गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताका कथाहरूबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउन चाहन्छ भने ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विगत ५० वर्षको यात्रा साझा मूल्यमान्यता, आपसी सम्मान र हाम्रा जनताको राम्रो भविष्य निर्माण गर्ने प्रतिबद्धताको कथा भएको कोरियाका राजदूत पार्क तियोङले बताए । यस अवधिमा द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धनका रुपमा रहेको उल्लेख गरे ।
उनले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि शक्तिशाली उत्प्रेरक भएको बताए । राजदूत पार्कले भने, “यो ऐतिहासिक कोसेढुङ्गामा पुग्नुभएकामा म दुवै देशका नेता तथा जनतालाई बधाई ज्ञापन गर्दछु । यो अनगिन्ती व्यक्तिको समर्पण र प्रतिबद्धताको प्रमाण हो, जसले सम्बन्ध निर्माण र विस्तार गर्न, समझदारी बढाउन र हाम्रा राष्ट्रहरूबीचको सहयोगलाई बढावा दिन अथक प्रयास गरेका छन् ।”