काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन् ।
मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल अवैधानिक संरचना हटाउन कोषका पदाधिकारीलाई निर्देशन दिए । कोषले समेत मन्त्रीको निर्देशन अनुसार यस्तो संरचना हटाउने निर्णय गरेको छ ।
कोषले अतिक्रमण गरेर बनाइएका भौतिक संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने निर्णय गरेको छ । मन्त्री किराँतीको सचिवालयले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको भएको जनाएको छ ।