काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । उक्त अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख घर भई काठमाडौंको काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनारलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिएपश्चात सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देव बहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको हो । साथै, उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार चार सय समेत बरामद भएको छ । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको छ ।