काठमाडौं । अमेरिकाको ईलेक्ट्रोनिक डाइभर्सिटी(डीभी) २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुमध्ये विवेक उपाध्यायसहित तीन जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको प्रहरी प्रवक्ता/सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
अन्य सात जनालाई भने काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । प्रहरीले धनुषा घर भइ हाल चावहिल बस्ने ४२ वर्षीय विवेक उपाध्याय, मकवानपुर घर भइ हाल चितवन बस्ने ३३ वर्षीया भगवती उप्रेती, लमजुङ घर भइ हाल ललितपुर बस्ने २४ वर्षीया रोना गुरुङ, ललितपुरका २५ वर्षीय संजय महर्जन, चितवन भरतपुर घर भई हाल नक्साल बस्ने २५ वर्षीय सुमन ढकाललाई पक्राउ गरेको छ ।
त्यसैगरी, सिरहा घर भई हाल सुर्यविनायक भक्तपुर बस्ने २९ वर्षीय सक्षम अर्याल, सर्लाही लालबन्दी घर भइ हाल धुम्बाराही बस्ने ३५ वर्षीय सुरज अधिकारी, दोलखा चरिकोट घर भई हाल ललितपुर बस्ने २६ वर्षीय अशोक श्रेष्ठ, पर्सा वीरगञ्ज घर भइ हाल बानेश्वर बस्ने २८ वर्षीय पुरुषोत्तम मल्लिक र सर्लाही हरिवनका २६ वर्षीय स्वर्णिम दाहाल रहेका छन् । उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाइएको छ ।