काठमाडौं । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । दुई महिनादेखि आफ्नो श्रीमान पदम सम्पर्कविहीन भएको उदयपुरकी टिना घिमिरेले बताइन् ।
उनले सेनामा भर्ना भएका पदमले २ पटक भाग्ने प्रयास गर्दा दुबै पटक रुसी सेनाले समातेर लगेको बताइन् । पछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको र त्यसपछि सम्पर्क नभएको उनले बताइन् ।
७ लाख रुपैयाँ खर्च गरेर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग २५ असोजमा अन्तिम पटक कुराकानी भएको सतुङ्गलका नारायण खड्गीले बताए । बन्करमा उनीसँग भएका केही नेपाली घाइते भएको थाहा पाएको उनले बताए ।
रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेको खोटाङकी शिला राईले बताइन् । उनले २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन सरकारसँग आग्रह गरिन् ।