भक्तपुर । ११ वर्ष अवधिमा एक हजार दुई सय वटा सफल मिर्गौला प्रत्यारोपण गरी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर इतिहास रच्न सफल भएको छ ।
केन्द्रका कार्यकारी निर्देशक तथा कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले बिहीबार ३९ वर्षीय श्रीमान्लाई उनकै ३४ वर्षीया श्रीमतीले दिएको मिर्गौला दानसँगै प्रत्यारोपणमा एक हजार दुई सय वटा पुर्याउन सफल भएको जानकारी दिए । उनले नेपालको अङ्ग प्रत्यारोपणमा ८० प्रतिशत हिस्सा ओगट्दै आएको केन्द्रले आफ्नो स्थापनाको ११ वर्षमा एक हजार दुई सय वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण गरेको जानकारी दिए । प्रत्यारोपणमा केन्द्रले ९९ प्रतिशत सफलता हासिल गर्दै आएको उनले बताए ।
नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।