सिमकोट (हुम्ला) । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आइतबार बिहानदेखि हुम्लामा पुन: हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो ।
लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको बताए । उनले लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताए ।
चिसोले लिमीका स्थानीयलाई समस्या भएको बताउँदै घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या भएको उनले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।
होचो स्थानमा पानी परिरहेको छ भने उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ । स्थानीय कमल भण्डारीले यसपटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको बताए ।
आइतबार बिहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेका कारण हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् । यतिबेलासम्म एक–दुई उडान नेपालगञ्ज, सुर्खेतबाट गरिसक्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो । अन्य कुनै पनि जहाजले उडान भर्न सकेका छैनन् ।