सिन्धुपाल्चोक । अगामी चैत २१ गतेसम्म जारी रहने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबारदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । मेलम्चीबाट पहिलो चरणको अभियानको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्र्ने जनाइएको छ ।
रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले ‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको बताइन् । उनले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको जानकारी दिइन् ।
सांसद सोविता गौतमले सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको अगुवाइ गर्ने छिन् । मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ । पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ ।
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन् । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको सांसद गौतमले बताइन् ।