काठमाडौं । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एक मात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट नौ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यस अगाडि तीन हजार फिटभन्दा माथिसम्म मात्रै कम्पनीले उडान गर्दै आएको थियो ।
कम्पनीले थप उचाइको अनुमति पाएसँगै अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए । पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णयानुसार अनुमति प्रदान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेशले डंगोलले बताए । उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताए ।
नेपालमा पोखरामा मात्रै सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् । आधा घण्टा उडानको नेपाली पर्यटकले नौ हजार पाँच सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । तीनदेखि नौ वर्षका बालबालिकाहरूका लागि प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क रहेको छ ।