काभ्रे । बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको बताएका छन्।
राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए । विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
पौडेलले आफूले कृषि क्रान्तिको कुरा सुरु गर्नुअघि काभ्रेका जनताले कृषि क्रान्ति गरिसकेको बताए । उनले अहिले रासायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उल्लेख गरे । सो कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषकलाई पुरस्कृत गरे।