काठमाडौं, जेठ २०
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि सरकारले २०७६ चैत ११ गतेदेखि विभिन्न चरणमा गरी यही जेठ ३२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सोही क्रममा लकाउनको समयमा अत्यावश्यक कामको लागि सरकारले जारी गरेको सवारी पासको अनधिकृतरूपमा दुरूपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुुमार केसीका अनुसार सजन देवकोटालाई सोमबार नियन्त्रणमा लिइएको हो । कार्यालयको नाम शंकर ग्रुप उल्लेख गरी हुण्डाइको क्रेटा गाडीको लागि देवकोटाले लकडाउनको समयमा काठमाडौं उपत्यकाभरि चलाउन पाउने गरी सवारी पास लिएका थिए । तर, उनको नाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुुनै सवारी पास जारी नभएको भन्ने जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएपछि अनुसन्धानको लागि देवकोटालाई नियन्त्रणमा लिएका हौं, प्रवक्ता केसीले भने । नियन्त्रणमा लिएका देवकोटा उपर थप अनुसन्धान भइरहेको उनले बताए ।