ढोरपाटन । हिजोदेखि प्रारम्भ भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट आइपुगेका छन् । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उनलाई स्वागत गरेका थिए ।
पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महाघण्ट राखिएको हो । राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आएका हुन् । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ ।
विसं २०७१ सालदेखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् ।
पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।