काठमाडौँ, जेठ २१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार अनाधिकृत रुपमा आर्जन गरेको रकम मालपोत अधिकृत ढकालले साली नाता पर्ने एक महिलाको नाममा सवारी साधन खरिद गरेको र अष्ट्रेलिया बस्ने जेठान नाताका नवराज अर्यालका नाममा समेत जम्मा गरेको पाइएको छ ।
आयोगका अनुसार मालपोत अधिकृत ढकालले १४ करोड ५३ लाख ८२ लाख ४ सय ९८ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । अनुसन्धानका क्रममा ढकालको १० करोड २७ लाख ५८ हजार ४ सय ६१ अवैध पाइएको छ । मालपोत अधिकृत ढकाल २०५४ माघ १४ गते अस्थायी शिक्षकका रुपमा सार्वजनिक सेवामा प्रवेश गरी मालपोत कार्यालय लमजुङबाट खरिदारको पदमा प्रवेश गरेका थिए ।
वि.सं. २०५५ असोज १६ मा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी नासु र हाल शाखा अधिकृतका रुपमा कार्यरत थिए । उनले लगनखेल, ललितपुरमा कार्यरत रहेको पाइएको छ । आयोगले मालपोत अधिकृत ढकाल, उनको श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालविरुद्ध विशेष अदालतमा मद्दा दायर गरेको छ ।