भरतपुर । ‘भरतपुर भ्रमण वर्ष २०२४’ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा पर्यटन क्षेत्रको सुधारका लागि आर्थिक क्षेत्रको सुधार हुन आवश्यक रहेको बताएका छन् ।
उनले नागरिकको आयस्तर सुधार भयो भने मात्रै पर्यटनको विकास गर्न सकिने बताए । रेग्मीले भने, “पर्यटनको विकासका लागि आर्थिक विकास महत्वपूर्ण छ ।” उनले अहिले नेपालको पर्यटन क्षेत्र फराकिलो बन्दै गएकाले यसतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।
“पहिले मनोरञ्जन र रमाइलोका लागि पर्यटक आउने गर्दथे । अहिले अध्ययन र आध्यात्मिकका लागि विदेशी पर्यटक यहाँ आइरहेका छन्”, रेग्मीले भने । उनले विदेशी पर्यटकलाई यहाँ बसाई लम्ब्याउनका लागि सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए ।
भरतपुर प्राकृतिकसँगै धार्मिक दृष्टिले पनि महत्वपूर्ण रहेको उनले बताए । ऐतिहासिक तथ्य हेर्दा पनि चितवन र पोखरा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन् भन्दै भरतपुर सधैँ अग्रपङ्तिमा रहने उनले बताए । भरतपुर भ्रमण वर्षले नेपालको पर्यटन विकासका लागि राम्रो सन्देश दिएको रेग्मीको भनाइ छ ।