काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आइतबार चितवन प्रहरीलाई पठाएका छन् ।
मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले शालिनको बलात्कार पुष्टि नभएको जानकारी गराए ।
पीडित परिवारले उनको शरीरमा चोटपटक रहेको दाबी गर्दै आएका छन् । तर, पोस्टमार्टम रिपोर्ट अनुसार शरीरमा ठुलो चोटपटक देखिएको छैन । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । कक्षा ८ मा अध्ययनरत छात्रा शालिन फागुन १२ गते होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।