काठमाडौं, जेठ २१
भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्गले होल्डिङ्ग सेन्टरको निरीक्षण गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सँग समन्वय गर्ने समेत जिम्मेवारीमा रहेका नेम्वाङ्गले मंगलबार प्रदेश नं. १ र प्रदेश नं. २ का लागि भक्तपुरमा व्यवस्थापन गरिएका होल्डिङ्ग सेन्टर निरीक्षण गरेका हुन् ।
होल्डिङ्ग सेन्टर निरीक्षणपछि डीसीसीएमसी भक्तपुरले आयोजना गरेको होल्डिङ्ग सेन्टर क्षेत्र व्यवस्थापन बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङ्गले बनेका योजनाहरु सही रुपमा कार्यान्वयन भए महामारी न्यूनीकरण गर्न सकिने बताए । उनले भने, ‘हामीले गरेका तयारीहरु ठीक छन् यसलाई सही ढंगले कार्यान्वयन गरियो भने कोरोना संक्रमण न्यूनीकरण गर्न सकिन्छ ।’
मन्त्री नेम्वाङ्गले होल्डिङ्ग सेन्टरमा आवश्यक प्रक्रियाहरु पूरा गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा नागरिकहरुलाई सहजता साथ सम्बन्धित क्वारेन्टाइनसम्म पु-याइने बताए । उनले महामारीविरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सम्बन्धित कर्मचारी र स्वयंसेवकहरुलाई उच्च मनोबलसाथ काम गर्न आग्रह गरे । जिल्ला सीसीएमसी भक्तपुर र नेपाली सेनाले प्रदेश नं. १ का लागि सूर्यविनायक नगरपालिका ५ स्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश नं. २ का लागि मध्यपुर ठिमी नगरपालिका ४ स्थित होटल हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ्ग सेन्टरको रुपमा व्यवस्थापन गरेका छन् ।
दुवै होल्डिङ्ग सेन्टर एक÷एक हजार क्षमता रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । कार्यक्रममा प्रमुख सेनानी शिवप्रसाद पौडेलले होल्डिङ्ग सेन्टरको सञ्चालन, व्यवस्थापन तयारीका योजनाहरु बिफ्रिङ गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनैपर्ने अवस्थामा रहेका नागरिकलाई होल्डिङ्ग सेन्टरमा राखेर आवश्यक प्रक्रिया पु-याई क्वारेन्टाइन पठाउने सरकारको तयारी छ ।
विदेशबाट आएका नागरिकलाई नेपाली सेनाको व्यवस्थापनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थिलबाट सिधै विभिन्न स्थानमा तोकिएका होल्डिङ्ग सेन्टरमा लगिनेछ । त्यहाँ उनीहरुको पालिकागत विवरण, स्वास्थ्य स्थिति लगायतको व्यक्तिगत विवरण तयार पारिनेछ । ट्रेसिङ सहजताका लागि सरकारले निःशुल्क सिमकार्ड उपलब्ध गराउनेछ ।होल्डिङ्ग सेन्टरबाट होटल क्वारेन्टिनमा बस्न चाहनेलाई सिधै व्यवस्थापन गरिएको होटलमा र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बस्नेलाई सम्बन्धित जिल्ला सदरमुकामसम्म पु-याइनेछ । यसरी आउने नागरिकलाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई क्वारेन्टाइनमा राख्नुपर्नेछ । स्थानीयतहको क्वारेन्टाइनमा बस्नेलाई खानालगायत आवश्यक व्यवस्था सोही स्थानीय तहले गर्नेछ ।