काठमाडौं, जेठ २१ सेञ्चुरी कमर्सियल बैंक र आईएमई मनि ट्रान्सफरले यूएईमा रहेका नेपालीहरूलाई राहत सामग्री सहयोग गरेको छ । सेन्चुरी बैंकको सेन्चुरी रेमिट र आईएमई रेमिटले खाद्यन्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेका हुन् । सेञ्चुरी बैंकका यूएई प्रमुख प्रकाश पौडेलमार्फत सोमबार आबुदाबीको राहत वितरण टोलीलाई तीन सय केजी चामल र ५४ लिटर तेललगायतको खाद्यन्न सामग्री उपलब्ध गराइएको छ भने आईएमई रेमिटले राहत वितरणमा खटिरहेका नेपाली संस्थामार्फत सहयोग हस्तान्तरण गरेको छ । आईएमईले एनआरएन, नेपाली समाज र आबुधाबीमा रहेको राहत वितरण टोलीलाई गरी पाँच हजार दिहराम अर्थात् लाख ६० हजारभन्दा बढीको सहयोग उपलब्ध गराएको छ । दुवई क्षेत्रमा गैरआवासीय नेपाली सघंका उपाध्यक्ष पासाङ शेर्पा तथा नेपाली समाजका प्रतिनिधिलाई आइतबार सहयोगअन्तर्गतको खाद्य सामग्री उपलब्ध गराइएको हो ।