काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार अर्थात् अन्तरबैंक कारोबार बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २५ खर्ब ७४ अर्ब २० करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षकोे सोही अवधिको तुलनामा पाँच खर्ब ४९ अर्ब आठ करोड रूपैयाँले बढी हो । गतवर्षको यही अवधिमा यस्तो कारोबार २० खर्ब २५ अर्ब १२ करोड रूपैयाँ थियो ।
वाणिज्य बैंकहरूले मात्रै २३ खर्ब १६ अर्ब ९८ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार खर्ब ७३ अर्ब १८ करोड रूपैयाँले बढी हो । गतवर्ष यही अवधिमा वाणिज्य बैंकहरूले १८ खर्ब ४३ आठ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । विकास बैंक र फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा दुई खर्ब ५७ अर्ब २२ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४ अर्ब ८२ करोड रूपैयाँले बढी हो । गतवर्ष सोही अवधिमा एक खर्ब ८२ अर्ब चार करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
बैंकिङ क्षेत्रमा अन्तरबैंक कारोबार बढेसँगै भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ पुसमा सात दशमलव ५३ प्रतिशत रहेकोमा २०८० पुसमा यस्तो ब्याजदर बढेर दुई दशमलव ८६ प्रतिशत पुगेको छ । २०७९ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १० दशमलव ८९ प्रतिशत रहेकोमा २०८० पुसमा घटेर तीन दशमलव ३७ प्रतिशत प्रतिशत कायम छ । २०८० पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर नौ दशमलव ३५ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ४९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव ७७ प्रतिशत छ । गतवर्षको पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ९१ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार २०८० पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ३२ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ५५ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव ६२ प्रतिशत छ । २०७९ पुसमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ५१ प्रतिशत कायम भएको थियो । यसैगरी कर्जाको भारित औसत ब्याजदर २०८० पुसमा वाणिज्य बैंकहरूको ११ दशमलव ३८ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव १४ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव शून्य नौ प्रतिशत छ । २०७९ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ७९ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।