काठमाडौँ । बङ्गलादेशको त्रिपन्नौँ स्वतन्त्र दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव बुधबार आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, कामको सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका बङ्गलादेशका नागरिक, उद्यमी, व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीहरुको नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीले आयोजना गरेको स्वागत समारोहमा उपस्थिति थियो ।
सो अवसरमा राजदूत चौधरीले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै बङ्गलादेशले प्रधानमन्त्री शेखहसिनाको नेतृत्वमा मध्यआययुक्त मुलुकका रुपमा आफूलाई रुपान्तरण गर्न लागेको बताउँदै नेपाल पनि त्यस दिशामा अग्रसर भएकामा खुसी व्यक्त गरे । उनले बङ्गलादेश र नेपालले द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्दै आएका र त्यस्तो सहकार्य, व्यापार, पर्यटन, शिक्षा, सांस्कृतिक आदान–प्रदान र जनस्तरको सम्बन्ध प्रवर्द्धनमा केन्द्रित रहेको बताए ।
बितेका पाँच वर्षमा बङ्गलादेश र नेपालका राष्ट्रपतिले एकअर्काका मुलुकको भ्रमण गरेको र त्यस क्रममा व्यापार, पर्यटन, सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक तथा ऊर्जा क्षेत्रमा सहकार्य एवं साझेदारी गर्ने सम्झौता भएका राजदूत चौधरीले बताए ।
राजदूत चौधरीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन संस्थागत संयन्त्रका बैठक भइरहेको बताउँदै बङ्गलादेश र नेपालबीच परराष्ट्र र वाणिज्य सचिवस्तरीय वार्ता आगामी महिना हुने जानकारी दिए । उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिन नेपालसँगको साझेदारीलाई अघि बढाउने बङ्गलादेश सरकार प्रतिबद्ध रहेको बताए ।