सियोफ । दक्षिण कोरियाले करिब पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने भएको छ । कोरियन सरकारले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार नौ सय जना चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको हो ।
सरकारले चिकित्सकहरुको संख्या बढाउने योजना सार्वजनिक गरेपछि त्यसको विरोधमा सरकारी चिकित्सकहरुले गत फेब्रुअरी २० देखि हड्ताल गर्दै आएका छन् । चिकित्सकहरुले सरकारी योजनाले चिकित्सकीय सेवाको गुणस्तर घटाउने भन्दै विरोध जारी राखेका छन् । यसको असर दक्षिण कोरियामा चिकित्सकको अभाव भएको छ ।
सरकारले कारबाही गर्ने चेतावनी दिएपनि करिब १२ हजार जुनियर चिकित्सकहरु विरोधलाई निरन्तरता दिँदै सेवामा फर्किएका छैनन् ।
स्वास्थ्य मन्त्रालयले अस्पताल फर्कन दिएको विशेष आदेशको अवज्ञा गरेपछि लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको सूचना आन्दोलनरत चिकित्सकहरुलाई सोमबार पठाएको हो । मन्त्रालयले यसअघि आन्दोलनमा रहेका चिकित्सकलाई तीन महिनासम्म निलम्बन गर्ने चेतावनी दिएकाके थियो ।
दक्षिण कोरियाको कानुनअनुसार चिकित्सकलाई हड्ताल गर्न प्रतिबन्ध छ । दक्षिण कोरियाको सरकारले चिकित्सक र जनसंख्याको अनुपात विकसित मुलुकहरुमै कम गर्नको लागि आगामी वर्षदेखि वार्षिक दुई हजारभन्दा बढी विद्यार्थीलाई मेडिकल विद्यालयमा भर्ना गर्ने नयाँ योजना ल्याएकोे छ ।