विराटनगर । विराटनगर महानगरपालिकाले युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्ने भएको छ । महानगरले विभिन्न सङ्घ संस्थाको समन्वयमा आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृह नजिकै इको फन पार्कमा सो मेला आयोजना गर्न लागेको हो ।
प्रारम्भमा एक सय ५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सकिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए । मेलाका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले मेलामा ४० वटा पक्ष रहने बताए । पहिलोपटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभिन्न सङ्घ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदातालाई कस्तो किसिमको जनशक्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सजिलो हुने उनको भनाइ थियो । दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवा प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने उनले बताए ।
‘हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ लक्ष्यबमोजिम मेलाले युवाको आवश्यकता र चाहना पूरा गर्ने प्रमुख कोइरालाले विश्वास व्यक्त गरे । मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सिपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्न सक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमुना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भई सेवा लिनेको संख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ ।