काठमाडौं, जेठ २२
ग्लोबल आईएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख सहयोग गरेको छ । एक कार्यक्रमकाबीच बुुधबार बैंकको प्रदेश नं. ५ का नायब प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् ।
उक्त कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यो सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए । कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।
बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरूमा सहयोग गर्दै आएको र आगामी दिनहरूमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७० करोड २६ लाख १४ हजार आठ सय ९४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही बैंकले एक अर्ब ८७ करोड २१ लाख २४ हजार पाँच सय १२ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ५९ करोड ६९ लाख ९९ हजार पाँच सय ४४ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब १८ करोड ८४ लाख एक हजार नौ सय १५ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ३३ लाख ५२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ अर्ब ९७ करोड ७६ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ६८ करोड ७९ लाख ४५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।