काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा हुम्लाको चेत्ली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा दायर छ ।
आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । चेत्ली–३ ब्याफु खानेपानी मर्मत योजनामा उनीहरूले योजनाको फिल्डमा नापी किताबबमोजिम काम नभए पनि काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्तासम्बन्धी झुट्टा बिल भरपाई तयार गरी प्रमाणित गरेर पाँच लाख १५ हजार रुपैयाँ गैरकानुनीरूपमा भुक्तानी गरेको देखिएको आयोगले जनाएको छ ।
आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ । यस्तै, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम एडीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
त्यस्तै, आयोगले मुगुको सोरु गाउँपालिका–९ मा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेलगायतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पाण्डेविरुद्ध १४ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । यसैगरी जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेशसिंह कठायतविरुद्ध १२ लाख ३६ हजार र सबइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध एक लाख ९१ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।