काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेसनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेन्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा चार सय जना विद्यार्थीहरूको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ ।
शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरूलाई दाँत तथा मुखको सरसफाइ, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य दन्त विभागका डाक्टर दीपक ठाकुरले बालबालिकाहरूको दाँत र मुख संवेदनशील हुने भएकाले समयसमयमा चिकित्सकबाट स्वास्थ्य जाँच गराउनुपर्ने बताए । सामुदायिक स्वास्थ्य सेवामार्फत आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको कलेजले जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरबाट गरिब, विपन्न तथा अस्पतालसम्मको पहुँच नपुगेका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ ।