गुल्मी । रेसुङ्गा विमानस्थलबाट नेपाल एयरलाइन्सको बुधबार र शुक्रबार सातामा दुई दिन उडान हुँदै आएकोमा सोमबारदेखि सातामा तीन उडान हुने भएको छ । सोही एयरलाइन्सले सोमबार पनि उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले बताए । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिने उनले बताए ।
काठमाडौँ-रेसुङ्गाका लागि सात हजार दुई सय ८० र रेसुङ्गा-काठमाडौँ रुटका लागि सात हजार ८० भाडादर निर्धारण गरिएको छ । नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौँ-रेसुङ्गा-काठमाडौँ उडान गर्दै आएको छ । तम्घासबाट पाँच किलोमिटरको दुरीमा रेसुङ्गा बिमानस्थल सदरमुकाम पर्छ ।