सुन्दरहरैँचा (मोरङ) । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको छ । भोजपुरको दिङ्लामा विसं २००३ मा जन्मिएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित थिए ।
नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्ष भइ नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन् ।
विराटनगरलाई कर्मभूमि बनाएर साहित्यकार सुवेदी नेपाली भाषा र साहित्यमा सक्रिय रहेका थिए । उनका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरु’लगायत कृति लोकप्रिय छन् । सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् ।