काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताए । “सहकारी ठगीको विषयमा मेरो नाम छ, तर नाम बाहेक मेरो केही पनि छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु । न कुनै मुद्दा आएको छ”, उनले भने–, “सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन ।”
सहकारी ठगीको विषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा उपप्रधानमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको प्रहरी महानिरीक्षक बसन्त कुँवरले बताए । “सहकारी ठगी सम्बन्धि उजुरीमा गृहमन्त्रीज्यूको नाम जोडिने गरी कुनै प्रमाण आएको छैन,” उनले भने– “उहाँको नाममा सांकेतिक रुपमा मात्रै उजुरी आए पनि कुनै प्रमाण छैन ।”
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकाले यस विषयमा स्पष्ट पारिदिन आग्रह गरे । “सहकारी ठगीको विषयमा रवि लामिछाने भन्ने नाम जोडिएको छ, त्यो नाम हाम्रा गहृमन्त्रीकै जस्तो रहेछ, तपाइ नै हो ? हो भने तपाईको पनि निष्पक्ष छानबिन जरुरी छ,” उनले भने, “यदी छानविनलाई विश्वसनिय बनाउने हो भने केही समयमका लागि तपाई गहृमन्त्रीबाट बाहिर निस्कदा राम्रो हुने छ ।”