काठमाडौं, जेठ २६
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही जेठ २२ गते बसेको सञ्चालक समितिले दुुई सय १७औं बैठकले वार्षिक साधारणसभासम्वन्धी निर्णय गरेको हो । उक्त निर्णयअनुसार कम्पनीले यही असार २२ गते रूपन्देहीको एसियन भिलेज रिर्सोटमा ११औं वार्षिक साधारणसभा गर्नेछ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ६७ लाख ७० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३१ करोड नौ लाख तीन हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी दुुई अर्ब ६२ करोड २९ लाख चार हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २७ अर्ब ५९ करोड १४ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ७५ करोड ६४ लाख ७८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब चार करोड २४ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले १८ अर्ब ८३ करोड १५ हजार रूपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ३७ लाख ९२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६३ करोड ९८ लाख १५ हजार रूपैयाँ खुद खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।