काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ साप्ताहिक चीन भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् ।
भ्रमणका क्रममा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग उपप्रधानमन्त्री श्रेष्ठले भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङमा रहँदा नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।
मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी गराए । यस भ्रमणले नेपाल र चीन बीचको आपसी सदभाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको मन्त्री श्रेष्ठको विश्वास छ ।