काठमाडौँ । मार्च महिनामा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । जुन गतवर्षको मार्च महिनाको तुलनामा २८ दशमलव नौ प्रतिशत (२८ हजार सात सय ४१ प्रतिशत)ले बढी हो । गतवर्ष मार्च महिनामा ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
यस वर्ष मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको संख्या १२ हजार ९३ छ ।
बोर्डका अनुसार अमेरिकाबाट १० हजार सात सय ७३ र बेलायतबाट सात हजार दुई सय ४१ जना, श्रीलंकाबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्याण्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
क्षेत्रीय हिसाबमा एसिया (सार्क)बाट ४० हजार सात सय २७, एसिया (अन्य)बाट २८ हजार छ सय ४८, युरोपबाट २७ हजार पाँच सय ८२, ओसनियाबाट चार हजार सात सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार छ सय १४ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्ष जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।